Thursday 28 June 2012

आशु सबै रित्तिसक्यो रुदा रुदा मेरो
हात पनि फुटिसक्यो भाडा धुदा मेरो

आमाबाबा छाडि गए इश्वरको घरमा

पढ्न पाइन आफन्त कोही नहुँदा मेरो

मायाममता स्पर्शको त्रिश्ना छ मनमा
मन नि रम्थ्यो होला आमाले छुदा मेरो

संघ संघठन आइदेउ न उद्धार् गर्न मेरो
सार्थक होला संघको काम हित हुँदा मेरो

आशु सबै रित्तिसक्यो रुदा रुदा मेरो
हात पनि फुटिसक्यो भाडा धुदा मेरो
मन्दिर मस्जिद गिर्जामा ढोग्नेहरु बड्दैछन
भाकल राखेर गुनासा पोख्नेहरु बड्दैछन।

विश्वास कसलाई गर्ने र चारैतिर उही हाल
छलछाम र मनमा पाप बोक्नेहरु बड्दैछन।

होश गर है जिउ र ज्यान सुम्पिदिनेहरुले
नासो थमाइ भागिजाने लोग्नेहरु बड्दैछन।

धिक्कार त्यो जवानी होश गुमाउनेहरुको
अबोध शिशुलाई हुर्कन रोक्नेहरु बड्दैछन।

मात्रित्व र ममतामा नि शंका नै उब्जन्छ
आफ्नै रगतको मुल्य तोक्नेहरु बड्दैछन।

संसार चलाउने नारी पुरुष जान्दैनन् अझै?
छोराछोरी माझमा नाफा जोख्नेहरु बड्दैछन।

सभ्य समाजको निर्माण हो? प्रश्न गरिहेर्नु
उत्तर अड्काइ गलामा खोक्नेहरु बड्दैछन।।

Friday 27 January 2012

मेरो घर (बाल-कविता)

फलामको लामो रड
इस्टिलको छ तार
दुवै मिलाई बिछ्याउदा
  त्यस्ले लियो भार।

ढुङ्गा फुटाइ गिटि बन्यो
बालुवा चाल्दा बज्री
सिमेन्ट मिसाइ ढलाई गर्दा
छाना भयो पक्कि।

राता राता इटा जोडियो
एक पछि अर्को
गन्दा अल्छि लाग्यो
मलाई भयो झर्को।

हेर्दा हेर्दै कति राम्रो
बन्यो मेरो घर
बन्छ अब फुलबारी
अनि लाउछु बार।।
हिसाब (बाल्-कविता)

सबैसँग मिल्न थाल्दा
साथी बड्न थाल्यो
रिसराग फाली दिदा
 शत्रु घट्नु थालयो ।

राम्रो बानी गुणा गर्दा
सबैजना खुशी भए
नराम्रो बानी भाग गरे
औधी माया पाए ।

कति सजिलो रैछ हिसाब
ध्यान लगाइ गर्दा
सबको प्यारो बन्न थाले
मन लाएर पड्दा ।।
म ज्ञानी केटी (बाल कविता)

कोरिबाटी सिनिक्कै
रातो रिबिन चिटिक्कै
धुलो पुछ्पाछ् गरेर
  कालो जुत्ता टिलिक्कै।
अल्झुला है लेशैमा
कसिदिनु टिनिक्कै
स्कुल जान्छु छेउ लागि
नसुर्ताउनु फिटिक्कै।
अलमल कतै गर्दिन
रात पर्छ झिमिक्कै
खाजा बनाइ बस्नु है
आइपुग्नेछु मिलिक्कै।।
बिद्रोहको बाँध हेर लौ फुटाइ छाड्यो प्रकृतिले
बहुतल्ले भवनलाई नि टुटाइ छाड्यो प्रकृतिले
पत्याउनु पर्ने सामर्थ्य नपत्याउनु गल्ती भयो
धन,ज्यान समेत हेर लुटाइ छाड्यो प्रकृतिले
मान्छे भएर बिबेक छैन एकतामा बसौ भन्ने
झरी,पैह्रोलाई एकैसाथ जुटाइ छाड्यो प्रकृतिले
सन्तुलित रहोस धरा अब पोलिथिन बन्द गरौ
नत्र त मानवको साथ छुटाइ छाड्यो प्रकृतिले

Wednesday 18 January 2012

आह्वान

१ अपरिहार्य मानिलेऊ
चाहिएको थियो,चाहिएको छ
र चाहिनेछ नित्य नै
म बिना तिम्रो डेग चल्दैन
सहानूभुति तिमीप्रती छँदैछ नि
म पनि तिमी बिना
अधुरो नै रहन्छु,त्यसैले
आऊ हातमा हात मिलाऊ। 

२)प्रगतिपथ पहिल्याइ सकेका
मेरा पाइलाहरुलाई 
कस्ले रोक्न खोजिरहेछ हँ?
मलाई चिनेनौ कि के हो
फ्लोरेन्स र सुनिता चिनेका छैनौ
मदर र सरोजिनी पनि चिनेकै छैनौ
जाऊ ईतिहासको पाना पल्टाऊ
तब तिमी भन्न सक्छौ
आऊ काधमा काध मिलाऊ ।

३)फुत्त फुत्कने चिप्लो बर्तमान
समाएर बस्न कति खोज्ने?
बाध्यताको आङमा चडेर
विवशता रमाउन पनि कति खोज्ने?
किचिएर,थिच्चिएर,पिल्सिएर बस्नु परेको बिरुद्ध
तिमी तिम्रो अधिकार चिच्च्याउछौ
म मेरो अधिकार चिच्याउछु
हाम्रो अधिकार चाँही कसले माँग्ने हँ?
त्यसैले आह्वान गरे है त
फोस्रो निती र ब्यवस्था बिरुद्ध
आऊ बातमा बात मिलाऊ ।
आऊ काधमा काध मिलाऊ।
आऊ हातमा हात मिलाऊ।।