Sunday 27 November 2011

कविता मर्न हुँदैन

वर्षौदेखि थला परेको मेरो कविता
गाडा घाउले कुजिएर बसेको मेरो कविता
छेउमा पुग्नै नसकिने आलो पिप गन्हाएर
. अरे! म पनि कति हुस्सु,
पिप पनि आलो हुन्छ र?
त्यो त भित्र भित्रै कुहिसकेको हुन्छ,
आलो र तातो त रातो रगत पो हुन्छ
तर बिडम्बना,
मेरो कविता आलो रगत गन्हाउन सक्दैन
न कि तातोको आभाष गराउन सकेको छ
बस! ऊ त गूडुल्किएर् सुतेको छ
नुनिलो आशुको घुट्को पिएर
एउटा कुनामा अफालिए झै
सशंकित तुल्याएर सबै सबैलाई
"अब त्यो कति दिन बाच्ला र?"
मेरो मनको अधेरीमा जुनको प्रकाश
छरिदेला साचेर मैले जन्माएको मेरो कविता
प्रकृति जस्तै रहस्यमय बनिदिदा
म भित्रको 'म'-त्व आज हारिरहेछ
अँह! मेरो कविता मर्न हुँदैन
म मर्न दिन्न मेरो कविता
कविता! ए कविता! उठ!
तैले बिक्षिप्त आशुमा काडे तार लाउन बाँकी छ
निष्पट्ट कालोको बिरुद्ध लाल्टिन बालेर
बिद्रोहको फोहरा छुटाउन छ
सरिता बनी पल पलमा
बर्तमान बगाउनु छ आफु बगेर
ए कविता! चाडो उठ
ओजपूर्ण अक्षरले बनिएको
अर्थयुक्त शब्दको खुराक तलाई खुवाउछु
ब्यङ्यको जलपले तलाई श्रिङार्छु
सरल शैलीले मनमोहक बनाउछु
ता कि,निरीहहरुले बुझ्न सकुन मेरो कविता,
धनाढ्यहरुले पनि बुझ्न सकुन मेरो कविता
अनि सबै सबैले पछ्याउन सकुन
पाइला बनेर मेरो कविता
पाइला बनेर मेरो कविता

No comments:

Post a Comment